
वातावरण र जनस्वास्थ्यका लागि जेखिमयुक्त मानिने ‘मेडिकल वेस्ट’ अर्थात अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्किने फोहेरको व्यवस्थापन वीरगन्जमा अब वैज्ञानिक ढँगबाट हुने भएको छ। ६ करोड २२ लाख रुपैयाँमा ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याउने भएको छ। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले एक कार्यक्रमबीच ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ सोमबार उद्घाटन गरेका छन्।
यसअघि नगरमा निस्किने घरायसी र अन्य किसिमका समान्य फोहोर व्यवस्थापनका लागि नगवा नजिक आधुनिक फोहोर व्यवस्थापन केन्द्र एशियाली विकास बैंकको अनुदानमा बनेर संचालनमा रहेको छ। अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले आफै अग्रसरता लिएर ‘मेडिकल वेस्ट’ अर्थात अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्किने फोहाेरको व्यवस्थापनका लागि केन्द्र निर्माण गरेको सरावगीले बताए।
आफैमा उपचारका लागि वीरगन्ज मध्य तराइको पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका बिरामीसंगै सीमावर्ती भारतीयका लागि पनि एउटा गन्तव्यको स्वरुप धारण गरिरहेको छ। यस्तोमा यहाँ अस्पतालबाट निस्किने फोहोर अरु प्रकारका फोहोरसँगै विसर्जन गर्ने गरिन्थ्यो।
‘यहाँ निजी अस्पतालको संख्या बढ्दो छ, वीरगन्जले उल्लेखनीय खंख्यामा मानिसहरुलाई चिकित्सकीय सेवा प्रदान गरिरेहको छ। वीरगन्जका अस्पताल फोहाेर व्यवस्थापनको लागि एउटा आधुनिक संरचना आवश्यक थियो,’ मेयर सरावगीले भने, ‘अस्पतालले आफू कहाँबाट निस्किने फोहोर अनुमति पत्रको शर्तानुसार आफैले व्यवस्थापन गर्नु पर्ने हो, तर उनीहरुले अन्य फोहोरसँगै मिसाउने गरेको पाइएको थियो, त्यसै औषधि आयातकर्ता र उद्योगहरुबाट निस्किने बिग्रेको औषधि तथा औषधिय पदार्थको व्यवस्थापनलाई ध्यानमा राखेर यो बनाइएको छ।’
अस्पताबाट निस्किने फोहोरबाट संक्रामण फैलिने खतरा हुने भएकोले महानगरपालिकाले यस योजनालाई बिशेष महत्व दिएको उनले बताए।
महानगरपालिकाको वातावरण तथा खानेपानी महाशाखाका प्रम्ख सुनिल कर्णले ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’लाई दुरगामी रुपमा सकारात्मक परिणाम दिने संरचना संचालनमा ल्याइएको दावी गरे। कोरोना संक्रमणको चुनौतीपूर्ण समयमा पनि नरोकिकन योजनाको काम अगाडि बढाइएको महानगरपालिका योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताए। ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ भित्र उपकरणका माध्यमले ग्रीन टेक्नोलोजी प्रयोग गरी अटोक्लेभ प्रविधिले विषाक्त फोहोरलाई गैरविषाक्त बनाइने इन्जिनियर अधिकारीले बताए। महानगरपालिकामा दैनिक ४.७ मेट्रिक टन ‘मेडिकल वेस्ट’ निस्किने गरेको कार्यालयले जनाएको छ।
‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ सञ्चालनमा आएपछि यहाँ २३ जना जनशक्ति आवश्यक पर्ने बताइएको छ। वीरगन्ज– १६ नगवामा ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ स्थापना भएको हो। महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र संचालन गर्ने ठेकेदारलाई हाल केही समय यस नयाँ इकाईको सञ्चालनको जिम्मा दिइने र पछि निजी साझेदारी अन्तर्गत ठेक्का लगाइने नगरप्रमुख सरावगीले जानकारी दिए।
from Nagarik News - Home