विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो। संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्।ती मध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन्।यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ। संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।
यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन्।नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ । हिजो शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ।
१० हजार किट स्वास्थ्य सामग्री
गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ।करिब एक करोड रुपैयाँ मूल्य बराबरको एन्टी जिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे।
हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको बताए।
from Nagarik News - Home